कोइरालासँग कुरै गर्न चाहँदैनन् मोदी संविधान जारी हुनुअघि बेला-बेला मोदी र कोइरालाबीच टेलिफोन वार्ता

आश्विन २१, २०७२- प्रधानमन्त्री सुशील कोइरालाले छिमेकी भारतद्वारा दुई सातादेखि लगाएको अघोषित नाकाबन्दी हटाउन भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रत्यक्ष संवाद गर्न प्रयास गरिरहे पनि सफल हुन नसकेको कूटनीतिक अधिकारीहरूले बताएका छन् ।
कोइरालाले संविधान जारी भएकै दिनदेखि मोदीसँग टेलिफोन वार्ता गर्न खोजेका थिए । ‘मोदीले नेपालको विषय सुन्नै नचाहेका कारण वार्ता हुन नसकेको हो,’ प्रधानमन्त्री निकाटस्थ अधिकारीले भने, ‘आन्तरिक समस्या समाधान नगरेसम्म वार्ता गरेर के गर्ने भन्ने सन्देश मोदीले दिएका छन् ।’
 
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि नेपाल आएर दिल्ली फर्केलगत्तै मोदीलाई भेटन विदेश मन्त्रालयमार्फत् कोसिश गरेका थिए तर अहिलेसम्म सफल हुन सकेका छैनन् । ‘मैले भेट्न खोजेको छु । अनि टेलिफोन वार्ताको लागि पनि पहल भइरहेको छ । हामी सम्पर्कमा रहेर काम गरिरहेका छौ । प्रगति हुन–हुन खोज्छ अनि फेरी त्यसै हुन्छ । लाग्छ समस्याको समाधान छिटै होला, नभएसम्म के भन्नु,’ उनले भने, ‘सरासर अन्याय पनि सहनुपर्ने जस्तो देखियो तर पहल भइरहेकै छ ।’
 
राष्ट्रसंघ महासभाको द्विपक्षीय साइडलाईन वार्ता नहुने पक्का भएपछि कोइरालाले अन्तिम समयमा अमेरिका भ्रमण स्थगित गरेका थिए । खासमा कोइराला मोदीलाई भेटेर नेपालको वस्तुस्थिति प्रष्ट पार्न चाहन्थे । दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद गराउने प्रयास बिहीबार पनि असफल भएपछि अधिकारीहरु निरास रहे ।
मोदी बैंगलोरबाट फर्केलगत्तै बिहारतिर लागेका कारण कुराकानीमा कठिनाई भएको दिल्लीका अधिकारीहरुले नेपाली अधिकारीहरुलाई बताएका छन् । नेपालमा संविधान जारी हुनुअघि बेला-बेला मोदी र कोइरालाबीच टेलिफोन वार्ता भइनै रहन्थ्यो ।
राजदूत उपाध्यायले मोदीको निर्णयबिना कसैले आपूर्ति व्यवस्था सहज पार्न नसक्ने भन्दै कोइरालालाई जानकारी गराएका छन् । उनले मोदीसँग कोइरालाको छलफल गराएर मात्र दिल्ली फर्कन चाहेका थिए तर सकेनन् ।
नेपालमा नयाँ संविधान जारी भएपछि रुष्ट भारतले अझैसम्म ‘स्वागत’ गरेको छैन । मधेस केन्द्रित दलका माग सम्बोधनका लागि दबाब दिँदै आएको भारतले आफूले भनेजस्तो नभएपछि नेपालमाथि अघोषित नाकाबन्दी गरेको हो । तर सरकारले अझै औपचारिक रुपमा नाकाबन्दी भन्न सकेको छैन । दलहरुले पनि यो नाकाबन्दी हो भनेर किटान गरेका छैनन् ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले विभिन्न तहमा छलफल भइरहेको जानकारी दिँदै भने, ‘समस्या लम्बिएकोमा सबै उत्तिकै चिन्तित छन् र स्पष्ट पार्न अन्य च्यानलहरु सक्रिय छन् । भारतीय प्रधानमन्त्रीका सल्लाहकार स्तरमा र विदेशमन्त्रालयमा हाम्रो राजदूतको छलफलहरु भइरहको छ । यता राजनीतिक छलफलहरु पनि सकारात्मक दिशामा छ । अब सल्टेला ।’
 
प्रधानमन्त्री न्यूयोर्क नगएपछि उनको स्थानमा उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई त्यसतर्फ पठाइयो । उनले न्यूयोर्कमा कोइरालाका तर्फबाट मोदीसँग भेटेर जानकारी गराउन कुटनीतिक पहल भए पनि त्यो सम्भव हुन सकेन । उच्च–राजनीतिक तहमा किन छलफल हुन सकेन भन्ने विषय अहिले निकै चर्चामा छ ।
सरकारले समाधानको वातावरण तय गर्ने भन्दा पनि सरकारी विदा दिएर पन्छने कार्य अघि बढाएकोमा कर्मचारीहरु नै आक्रोसित बनेका छन् । ‘सरकारले आन्तरिक रुपमा कुनै तयारी नगर्दा समस्या जस्ताको  तस्तै छ, सबैजना विकल्प दिँदा भारत रिसाउछ कि भन्नेमा नै छन् । कुटनीतिक नेतृत्वले पनि त्यही अनुरुपको व्याख्या गर्दा समस्या परेको हो,’ ति अधिकारीले भने ।
 
भारतबाट आपूर्ति हुन नसकेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सरकारका आपूर्तिमन्त्री सुनिलबहादुर थापाले दिल्ली र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले न्यूयोर्कमा भेटे त्यसले केही फलिभूत भएन । त्यसपछि दुवै तर्फका राजदूतस्तरमा मात्र कुराहरु भएका छन् । सरकारले यो विषय अन्तर्राष्ट्रियकरणसमेत गर्न सकेका छैन ।

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.