बाबुलाई आगोबाट जोगाउन खोज्दा १२ वर्षीया छोरीको ज्यान गयो

काठमाडौं, बाँके र कास्कीको दुर्घटना मानवीय त्रुटि मात्र हो कि भारतीय नाकाबन्दीको प्रभावले उत्पन्न इन्धन अभाव पनि हो? भारतीय नाकाबन्दीले उत्पन्न पेट्रोलियम अभाव केही व्यक्तिका लागि जिन्दगी नै गुमाउनुपर्ने दुःखद घटनाको कारक बन्न पुगेको छ। दसैंको मुखमा यस्तै दुर्घटनाको सिकार भए माझठाना–९, कास्कीका प्रकाश तिवारीको परिवार। यो फूलपातीको दुई दिनअघि कात्तिक १ को घटना हो। प्रकाश पोखराको अर्जलबोटस्थित आफ्नो डेरामा थिए। उनका दुई साला केशव र पुष्पराज तिमिल्सिना बिहानै आइपुगे। केशव पोखरामा ट्याक्सी चलाएर गुजारा गर्छन्। भाइ पुष्पराजको भर्खरै हर्नियाको अप्रेसन गरिएको थियो। उनलाई सराङकोट, तोरीपानीस्थित घर पुर्याउन पेट्रोलको खाँचो थियो। चर्को अभावले सराङकोट सम्मलाई पुग्ने पेट्रोलधरि गाडीमा बचेको थिएन। गण्डकी ट्याक्सी व्यवसायी संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रकाशले दसैं बेला संकट पर्ला भनेर अलिकति पेट्रोल जम्मा गरेका थिए। सालाहरूको समस्या सुनेपछि उनले भने, ‘दसैं बेला चाहिन्छ भनेर अलिकति राखेको छु, तिमीहरू बिहानै आओ, घरसम्म जानलाई पुग्ने मै दिऊँला।’ केशव र पुष्पराजलाई अरू के चाहियो! उनीहरू भिनाजुसँग पेट्रोल पैंचो माग्न एकाबिहानै ट्याक्सी लिएर उनको डेरा पुगे। प्रकाशले आफ्नो कोठाबाहिरको साँघुरो ‘प्यासेज’ मा पेट्रोल भरिएको ग्यालेन राखेका थिए। केशव र पुष्पराज आइपुगेपछि उनले त्यही ग्यालेनबाट अर्को सानो भाँडोमा पेट्रोल खन्याए। १२ वर्षीया छोरी रोशनी सघाउन आइन्। पेट्रोल खन्याउँदा अलिकति भुइँमा पोखियो। पोखिएको तेल हावामा फैलिँदै नजिकै पूजाकोठासम्म पुगेको उनीहरूले चालै पाएनन्। त्यतिबेला पूजाकोठामा दियो बलिरहेकै थियो। दियोको आगोले पेट्रोललाई छुन कत्ति बेर लागेन। पूजाकोठा र प्यासेज एकैछिनमा दन्दन्ती बल्न थालिहाल्यो। प्रकाश, छोरी रोशनी र कोठाभित्र रहेका १५ वर्षीय छोरा रोशन आगोको लप्कामा परिहाले। दन्दन्ती जलिरहेको कोठाभित्रबाट तीनै जना चिच्याउँदै गुहार माग्न थाले। कसरी हो, रोशन र रोशनी आगो बीचबाट उफ्रँदै बाहिर निस्कन सफल भए। रोशनले आगो सल्केको कपडा खोलेर जलेका हातखुट्टा तुरुन्तै पानीमा चोबले। छोरी रोशनीले भने आफ्नो बाबा आगोमै थुनिएको देखेर मन थाम्न सकिनन्। उनी फेरि आगोभित्र छिर्न खोजिन्, बाबालाई बचाउन। केशवले जोडसँग रोशनीको हात अँठ्याए। उनी भने ‘बाबा...बाबा’ भन्दै झन् बल लगाएर फुत्किन खोज्थिन्। बाबाकी प्यारी रोशनी दुईचोटि आगोको मुश्लोभित्र छिर्न खोजिन्। दुवैचोटि केशवले तानेर बाहिर निकाले। मामा–भान्जीको घम्साघम्सीमा ग्यालिन घोप्टिएर जम्मै पेट्रोल भुइँभरि फैलियो। कोठाको आगो जंगलमा डढेलो लागेसरि रापिलो हुँदै गयो। रोशनी एकनासले ‘बाबा... बाबा...’ भन्दै चिच्याइरहेकी थिइन्। र, सक्दो बल लगाएर आगोभित्रै छिर्न खोज्थिन्। त्यही बेला भुइँमा पोखिएको पेट्रोलमा चिप्लिएर केशव र रोशनी पछारिए। आगोको लप्काले दुवैलाई एकैछिनमा छोपिहाल्यो। यी सबका बीच प्रकाशकी श्रीमती सीता भान्सामा खाना पकाउँदै थिइन्। छोराछोरी र भाइ चिच्याएको सुनेपछि उनी पकाउँदा पकाउँदैको खाना छाडेर हुरीजस्तो बाहिर आइन्। भाइ पुष्पराज पनि सँगै थिए। त्यतिबेलासम्म कोठाबाहिर डोरीमा टांगिएका कपडा आगो सल्केर खरानी हुँदै थियो। धुवाँको मुश्लोले आँखा राम्ररी खोल्नधरी सकिन्थेन। हडबड र हाँपदाँप गर्दै उनले बल्लतल्ल छिमेकी डाक्न भ्याइन्। दौडादौड गर्दै सबै हेर्न आए। सबै मिलेर केही बेरमा आगो निभाए। र, सबैलाई उद्धार गरी मणिपाल अस्पताल पुर्याए। अस्पताल पुग्दा रोशनी र केशवको स्थिति गम्भीर भइसकेको थियो। डाक्टरहरूले उपचारका लागि काठमाडौं लैजान सुझाए। त्यसै दिन २ बजे उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याएर वीर अस्पताल भर्ना गरियो। डाक्टरले घाउको गम्भीर अवस्था देखाउँदै कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा रेफर गरिदिए । डाक्टरहरूका अनुसार रोशनीको शरीर झन्डै ७० प्रतिशत जलेको थियो। उनलाई भारत, मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान सुझाव दिइयो। त्यहाँ लैजाँदा पनि ज्यान बच्ने सम्भावना ५० प्रतिशत मात्र भएको डाक्टरहरूले बताएका थिए। सम्भावना जतिसुकै क्षीण भए पनि १२ वर्षीया छोरीको माया कसरी मारून् परिवारले! उनीहरूले एयर एम्बुलेन्समा भए पनि छोरीलाई मुम्बई पुर्याउने निधो गरे। काठमाडौंबाट मुम्बईसम्म लगेको १६ लाख भारू भाडा लाग्ने रहेछ। उनीहरू त्यसका लागि पनि तयार भए। छोरीको ज्यानको अगाडि पैसाको के मूल्य रह्यो र! आधारभूत स्वास्थ्य सेवा त गुणस्तरीय र सर्वसुलभ हुन नसकेको हाम्रो देशमा विशिष्ट सेवा चानचुने कुरा होइन । त्यसमाथि सर्वसाधारणका लागि एयर एम्बुलेन्सजस्तो विशिष्ट सेवा भनेको वायुपंखी घोडाजत्तिकै दुर्लभ हुने भइहाल्यो। लागेजति पैसा तिर्न तयार हुँदा पनि उनीहरूले भन्नेबित्तिकै एयर एम्बुलेन्स पाएनन्। दुई दिनपछि मात्र बिरामी लिन आउन सक्ने सूचना उनीहरूको हात पर्यो। कीर्तिपुर अस्पतालका डाक्टरले आफ्नो बलबूताले भ्याएसम्म रोशनी र केशवको उपचार गरिरहे। अन्ततः कसैको केही जोड चलेन। सात कक्षामा पढ्ने रोशनी तिवारीको उपचार क्रममा यही बिहीबार बिहान मृत्यु भयो। कीर्तिपुर अस्पतालमै उपचाररत केशवको शरीर ४५ प्रतिशत जलेको डाक्टरले बताएका छन्। उनलाई आइसियूमा राखिएको छ। प्रकाश, छोरा रोशन र पुष्पराजको पोखरास्थित मणिपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। ‘पेट्रोलबिना त हाम्रो जीविकै चल्दैन, उहाँले ट्याक्सी पनि चलाउनुपर्यो, संघको काममा पनि दौडधुप गर्नुपर्यो, त्यसैले अलिअलि घरमा जोहो गरेर राख्नैपर्छ,’ घाइते छोरी र भाइलाई लिएर पोखराबाट कीर्तिपुर अस्पताल आइपुगेका पत्नी सीताले सेतोपाटीसँग भने, ‘आज त्यही बाध्यताले छोरीको ज्यान गयो। यति दुःख गरेर हुर्काइयो, आज यस्तो दिन देख्नुपर्यो।’ नाकाबन्दीका कारण पेट्रोल जोहो गर्न बाध्य प्रकाश तिवारीको परिवारलाई परेजस्तो विपत यहाँ जोसुकैलाई पर्नसक्छ। भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम आपूर्ति ठप्प भएपछि धेरै उपभोक्ता अनेक तरिकाले जोहो गर्न बाध्य छन्। साना सहर तथा सीमावर्ति क्षेत्रबाट उच्च मूल्य तिरेर ग्यालेनमा इन्धन ओसार्ने क्रम बढेको छ। चाडपर्वको मुखमा नभई नहुने भएपछि पेट्रोलियमजस्तो प्रज्वलनशील पदार्थ जोखिमपूर्ण रूपमा ओसारपसार भइरहेकै छ। बाँकेमा भएको बस दुर्घटना पनि नाकाबन्दीका कारण असुरक्षित रूपले ओसार्दाकै परिणाम हो। बाँके जिल्लाको खासकुश्मा गाविसको चप्परगौडी भन्ने स्थानमा मंगलबार बस दुर्घटना भई आगो लाग्दा आठ जनाको मृत्यु भएको थियो। ग्यास सिलिन्डर र पेट्रोल बोकेको उक्त यात्रुवाहक बस पल्टिनासाथ आगो लागेको थियो। बुटवलबाट नेपालगन्ज गइरहेको लु१ख ५८२८ नम्बरको उक्त बसमा आगो लागेपछि यात्रुहरू सिसा फोरेर बाहिर निस्केका थिए। निस्कन नसकेका यात्रुको बसभित्रै जलेर मृत्यु भयो। यसअघि राजधानीमा पनि जोहो गरेको इन्धनबाट आगो लाग्दा तीन जनाको ज्यान गएको थियो। काठमाडौं महानगरपालिका– ३५, कोटेश्वर चोक नजिक यही असोज २२ गते राति आगो लाग्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा रामेछाप, लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशा छन्। यो घटनामा पनि मृतक लेखराज ट्याक्सी चालक थिए। उनले कोठामा सञ्चित राखेको पेट्रोल एउटा भाँडोबाट अर्कोमा खन्याउँदा नजिकै बलिरहेको मैनबत्ती सल्केर आगो फैलिएको थियो। कास्की, बाँके र काठमाडौंका यी दुर्घटना प्रत्यक्ष रूपले मानवीय त्रुटिकै कारण भएका हुन्। प्रज्वलनशील पदार्थ असुरक्षित र जोखिमपूर्ण ढंगले घरमा सञ्चित गर्दा र यात्रुवाहक बसमा ओसारपसार गर्दा यति ठूलो दुर्घटना भएको देखिन्छ। तर, के यी घटनामा मानवीय त्रुटिलाई मात्र दोष दिन मिल्छ? Advertising that works - yX Media भारतीय नाकाबन्दीले चाडबाडको मुखमा नेपाललाई पेट्रोलियम अभावको उत्कर्षमा पुर्याएको छ। ट्याक्सी चलाएर गुजारा गर्नुपर्ने चालकहरूलाई जोखिम मोलेर भए पनि घरमा इन्धन सञ्चित नगरी धर छैन। उता, प्रहरीले बाँके दुर्घटनापछि यात्रुवाहक गाडीमा इन्धन ओसार्न रोक लगाए पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन। काठमाडौंका धेरैले चितवन, बारा, कपिलवस्तु लगायत जिल्लाबाट प्रतिलिटर ३ सय ५० देखि ५ सय रुपैयाँसम्म तिरेर पेट्रोल मगाइरहेकै छन्। सिलिन्डरको ५ हजार तिरेर ग्यास मगाउने पनि थुप्रै छन्। यसरी मगाइएका ग्यास र पेट्रोलको आपूर्ति लुकाइछिपाइ यात्रुवाहक बसबाटै भइरहेको छ। यतिमात्र होइन, इन्धन अभावले नियमितभन्दा आधा संख्यामा यात्रुवाहक बस चलेपछि दसैं मनाउन घर जानेहरूले यसपालि थप समस्या झेल्नुपर्यो। यो समयमा काठमाडौंबाट छुटेका लामो दुरीका सबैजसो बसमा क्षमताभन्दा दोब्बर यात्रु थिए। बसभित्रको त के कुरा, छतमा पनि खुट्टा राख्ने ठाउँ थिएन। यसरी यात्रु चढाउनु जोखिमपूर्ण हो भन्ने जान्दाजान्दै ट्राफिक प्रहरीले आँखा चिम्लिरहेका छन्। सुरक्षा प्रत्याभूत गर्नुपर्ने निकायले नै आँखा चिम्लनुको कारण अरू केही होइन, भारतीय नाकाबन्दीले उत्पन्न पेट्रोलियम अभाव नै हो। दसैंमा देखिएको यात्रुको बिजोग र कास्की, बाँके तथा काठमाडौंको दुर्घटनापछि तुरुन्तै वैकल्पिक उपायबाट इन्धन आपूर्ति गराउन सरकारमाथि दबाब बढेको छ। ‘भारतले नाकाबन्दी लगाएको एक महिना बितिसक्दा पनि सरकार विकल्प खोज्नतिर लागेको छैन, खाली भारतकै मुख ताकेर बसिरहेको छ,’ पेट्रोलियम व्यवसायी सरोज पाण्डेले सेतोपाटीसँग भने, ‘न वार्ताबाट समस्या सुल्झाउन सकेको छैन, न मुखले भनेजस्तो चीनबाट तेल ल्याउन सकेको छैन।’ यी सबै दुर्घटनाको अप्रत्यक्ष कारण सरकारको त्यही लाचारी पनि भएको उनी बताउँछन्।

Comments

Popular posts from this blog

NASA Rover Finds Evidence That Mars Once Had Lakes

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)