कसरी बने सभापति कोइराला प्रधानमन्त्रीका उम्मेद्वार


नयाँ सरकारको गठनका विषयमा नेपाली कांग्रेस केन्द्रीय समिति भित्र बिहिबार र शुक्रबार दिनभर गम्भीर छलफल चल्यो।
बैठकमा महामन्त्रीद्धय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का लगायत करिब एक दर्जन सदस्यहरुले संविधान निर्माणका लागि भएको १६ बुँदे सहमति गर्दा प्रमुख दलका शीर्ष नेताहरुबीच भएको सहमतिकै आधारमा नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिनुपर्ने धारणा जोडदार रुपमा राखे।
उनीहरुले संविधान बनाउँदा दलहरुबीच भएको सहमति, एकता र सहकार्यको संस्कृतिलाई निरन्तरता दिँदै मुलुकमा विद्यमान संकटको सामना र संविधानको सफल कार्यान्वयनमा जोड दिए।
तर झण्डै ९० प्रतिशत सदस्यहरुले दलबीच भएको एकता र सहमतिलाई निरन्तरता दिँदै मधेसमा आन्दालनरत दलको माग वार्ता र सम्वादद्धारा सम्बोधन गर्न फेरीपनि कांग्रेसकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार निर्माणमा जोड दिएका थिए।
शुक्रबार अपरान्ह बोल्न बाँकि रहेका सदस्यहरुले आफ्नो राय राखिसकेपछि पार्टी उपसभापति रामचन्द्र पौडेलले आफूले पार्टी संगठन निर्माणका लागि ठूलो भूमिका निर्वाह गरेपनि अहिलेसम्म कुनै मौका नपाएको गुनासो गर्दै भने, मेरो नामको अघिको उपसर्ग हटाइदिनुहोस्। म कति भरिया बन्ने? भन्दै उनले यस पटक आफ्नो नेतृत्वमा नयाँ सरकारको गठनका लागि बैठकले निर्णय गर्न आग्रह गरे।
पौडेलको भनाईमा असहमति जनाउँदै पार्टी सभापति सुशील कोइरालाले भने, ‘प्रधानमन्त्रीको उम्मेदवार को बन्ने भन्ने कुरा अहिले नै नगरौं। अझै पार्टीभित्र र बाहिर छलफल गरी निर्णय गरौंला।’
कोइरालाको अभिव्यक्तिप्रति सहि थाप्दै वरिष्ठ नेता शेरबहादुर देउवाले पनि सरकार गठनका लागि पार्टीको मतले मात्र नपुग्ने भएको हुदाँ तत्काल निर्णय नगर्न सुझाए। उनले अहिलेको मुख्य समस्या भनेको मधेसमा जारी आन्दोलन भएको उल्लेख गर्दै मधेसवादी दल लगायत अन्य दलको सहयोग जस्को नाममा जुट्छ उसैलाई उम्मेदवार बनाउनु पर्ने राय दिए।
बैठक सकिनु केही समय अघि देउवाले आफू निकट नेता विमलेन्द्र निधिलाई कांग्रेसकै नेतृत्वमा सबै दललाई समेटी राजनीतिक सहमतिको सरकार गठनका लागि पार्टीले पहल गर्ने बैठकको निर्णय प्रस्ताव तयार पार्न लगाएका थिए। निधिले तयार पारेको प्रस्तावको मस्यौदा पार्टी सदस्य शेखर कोइरालाले हेर्दै कम्प्यूटरमा टाइप गर्न त्यहाँ उपस्थित सहयोगीलाई लगाए। त्यहिबीचमा सहमहामन्त्री पूर्णबहादुर खड्काले मस्यौदा हेर्दै यो के हो र कस्ले तयार पार्न भन्यो भन्दै कम्प्यूटर सहयोगीलाई हप्काउदै उक्त कागज च्यातिदिएको एक सदस्यले बताए।
त्यसपछि शुक्रबारको बैठकमा कुनै निर्णय भएन। नेताहरू बैठक कक्षबाट बाहिरीने क्रममा प्रधानमन्त्री कोइराला र नेता देउवाले निर्णय हुँदैछ भन्ने प्रतिक्रिया दिए भने पौडेलले तीन नेता बसी छलफल र निर्णय गरी पुनः केन्द्रीय समितिमा शुक्रबार नै प्रस्तुत गरी अनुमोदन हुने जानकारी दिँदै तीन नेताबीच छलफलका प्रधानमन्त्रीको निजी कार्यकक्षतिर लागे।
शुक्रबार करिब साढे ३ बजेदेखि तीन शीर्ष नेताहरु छलफलमा बसेका थिए। उक्त छलफलमा पनि पौडेलले कोइराला र देउवासँग आफूलाई एक पटक पालो दिन आग्रह गरिरहे। देउवाले सभापति कोइरालालाई पटक पटक प्रश्न गर्दै भने, ‘तपाई नै लड्ने हो भने पनि भन्नुहोस्। होइन भने पार्टी विधान अनुसार, संसदीय दलको नेता चयनको प्रक्रियामा जाउँ जो निर्वाचित हुन्छ उही उम्मेदवार बनौला,’ भन्ने धारणा राखे। तर कोइरालाले कुनै प्रतिक्रिया दिएनन्।
त्यही बीचमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्को टोली प्रधानमन्त्री कोइराला र कांग्रेस नेतासँग भेटवार्ता गर्न पुगे र लामो समय छलफल गरी आफ्नो पार्टीको धारणा राख्दै बाहिरिए।
कोइरालाले कुनै प्रतिक्रिया नदिएपछि देउवा र पौडेल पनि शनिबार बिहान पुनः बसी निर्णयमा पुग्ने भन्दै बाहिरिए।
साँझ बालुवाटारमा कोइराला निकट मानिने प्रवक्ता दिलेन्द्रप्रसाद बडु, सञ्चारमन्त्री मिनेन्द्र रिजाल, बनमन्त्री महेश आचार्य, अर्थमन्त्री रामशरण महत लगायतका नेताहरुबीच छलफल चल्यो।
उनीहरुमध्ये बडु र रिजालले अन्तिम समयसम्म पनि कोइराला नै उम्मेदवार हुनुपर्ने अडान राखिरहे भने महेश, नरहरि र महत जसले केन्द्रीय समितिको बैठकमा सहमति र सहकार्यको संस्कृति तोड्न नहुने भन्दै एमालेसँगको सहमतिलाई निरन्तरता दिन पार्टीलाई सुझाएका थिए उनीहरुले पनि विचार बदलेको स्रोतले बतायो।
यदि सहमतिका आधारमा एमालेको नेतृत्व स्वीकार गर्न पनि नसक्ने र कोइरालाले पनि सहज जित्ने परिस्थिती छैन भने पौडेललाई उम्मेदवार बनाउनु पर्ने तर देउवालाई कुनै हालतमा दिन नहुने अडान राखे।
शनिबार बिहान ९ बजेतिर बालुवाटारमा पुग्दा त्यहा पार्टी पदाधिकारीहरु छलफलमा जुटिसकेका थिए। देउवा साढे ९ बजे बालुवाटारको एक नम्बर गेटबाट भित्र पसे।
तीन नेताको बैठक भनिएपनि पदाधिकारी सहितको बैठकमा कोइरालाले पहिलो पल्ट मुख खोल्दै भने, ‘अहिलेको अवस्थामा तपाईँहरुले सक्नु हुँदैन। मलाई नै सबैले सरकारको नेतृत्व निरन्तरता दिन आग्रह गरीरहेको हुँदा म आफै अघि बढ्नु पर्ने भयो।’ त्यसपछि देउवा र पौडेल रातो अनुहार बनाउँदै मौन स्वीकृति जनाए।
बैठकमा आफ्नो उम्मेदवारी घोषणा गर्नुपूर्व कोइरालाले पार्टीभित्र र बाहिर तीन दलको सहमति र सहकार्यलाई निरन्तरता दिन जोड दिए पनि अहिलेको राजनीतिक सहमति एमाले कै कारण तोडिएको दाबी गरेको एक सदस्यले बताए।
मुलुकमा उत्पन्न सबै समस्याकेा समाधान गर्न र संविधानको सफल कार्यन्वयनका लागि तीन दलको सहमतिलाई निरन्तरता दिन तीन दलबीचकै आपसी सहमतिका आधारमा नै नयाँ सरकारको नेतृत्व चयन हुनुपर्ने थियो। तर एमाले स्थायी कमिटि बैठकले कांग्रेस र एमाओवादीसँग परामर्श विना नै एकलौटी निर्णय गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाएपछि दलहरुबीचको सहमति टिक्न नसकेको उनको दाबी थियो।
यस परिस्थितिमा पार्टीभित्र र बाहिर रहेका सबैको चाहना अनुसार आफैं उम्मेदवार बन्नु परेको तर्क गर्दै कोइरालाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अझै पनि एमाले र एमाओवादी लगायतका सबै दललाई सहयोगका लागि आग्रह गर्ने पार्टीको निर्णय सुनाए।
दोस्रो निर्णयका रुपमा कांग्रेसले तराई मधेस र भारतकोबीचमा पर्ने दशगजामा विभिन्न माग राख्दै नाकाबन्दी गर्दै आएका आन्दोलनरत दललाई पनि सहमतिमा आउन आग्रह गरेको छ।
कोइरालाले अहिले आन्दोलन गरिरहेका मधेसवादी दल पनि भोलि संसदमा हुने प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी भएर आफूलाई मतदान गर्ने जानकारी गराएका थिए।
कोइरालाको यस्तो निर्णय सुने लगत्तै सहमहामन्त्री पूर्णबहादुर खड्काले चर्को प्रतिबाद गर्दै यसमा आफ्नो एकसय एक प्रतिशत असहमति रहेको बताए। पार्टी नेता गणेशमान सिंहले टनकपुर सन्धिको बेला सरकारले उक्त सन्धी संसदबाट अनुमोदन नगरी इतिहासमा हिमालयन मिस्टेक गरेको छ भनेको प्रसंग उल्लेख गर्दै कोइरालाले पनि अहिले प्रधानमन्त्रीको उम्मेदवार बन्ने निर्णय गरी सहमतिको राजनीति तोड्नु नेपालको इतिहासमा हिमायलन मिस्टेक भएको बताए।
सभापति कोइरालाको निर्णय सहमतिकेा राजनीति, मुलुक र जनताको आवश्यकतासँगै संविधानको सफल कार्यन्वयनका लागि गलत भएको टिप्पणी गर्दै भने, यसले देशभित्रमात्र नभइ नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धमा थप नकारात्मक असर पार्छ।
सभापतिले मनोनित गरेको पदाधिकारी सभापतिसँगै असहमत भएपछि नैतिक रुपमा पदमा बसीरहन नमिल्ने भन्दै खड्काले आजैको मितिदेखि पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे, उनले भने, लिखित पत्र पछि बुझाउँछु।
पार्टी सभापति र संसदीय दलको नेता स्वयम् नै प्रधानमन्त्रीकेा उम्मेदवार बन्छु भनेपछि दलको नेता चयनका लागि समय पनि छोटो र यसले महाधिवेशनमा असर पार्ने भएकोले मौन बसेका वरिष्ठ नेता देउवा एक नम्बर गेटबाट र पौडेल ३ नम्बर गेटबाट पौने १० बजेतिर बालुवाटारबाट बाहिरिए।

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

As tensions play out at home, powerful Pakistani general heads to US for talks