टिनएजको जंक फुड मोह

दरबारमार्ग, न्युरोड, बानेश्वर आदि महँगा स्थलदेखि सामान्य सडक किनारमा भएका फुड स्टलमा मीठो स्वाद लिन  युवापुस्ताको भीड लागेको हुन्छ । ठेलागाडादेखि तारे होटलसम्म आफ्नो बजेटअनुसारको परिकारमा अहिलेको युवापुस्ता मस्त छ । पिज्जा, बर्गर, मोमो, चाउमिन, ससेजदेखि चाट, चनाचटपटे तथा पानी पुरीले उनीहरूलाई आकर्षित गरिरहेको छ । हेर्दै मुखबाट पानी आउने तथा जिब्रोमा झुन्डिने स्वादबाट लोभिनु त मानिसको स्वभाव नै हो । पिरो, अमिलो, गुलियो, नुनिलो आदि मिसाएर तयार गरिने त्यस्ता परिकारले नलोभ्याऊन् पनि किन ? घरमा पाकेको दाल–भातभन्दा लेज, चाउचाउ, कुरकुरे, पाउँ स्वादिलो हुँदा उनीहरू त्यसतर्फ आकर्षित भएका छन् तर जंक फुड खाँदा जति मीठो हुन्छ त्यसको असर पनि सोही मात्रामा हुन्छ । यो सबै जानेर पनि किन युवाहरू त्यसप्रति लोभिएका छन् भन्ने विषयमा नारीले किशोरावस्थाका किशोरीसँग छलफल गरेको थियो ।   बहसमा सहभागी ह्वाइट गोल्ड इन्टरनेसनल कलेज, तीनकुनेकी छात्रा शिवानी रायमाझीका अनुसार नयाँ, फरक तथा मीठो हुने हुँदा जंक फुडको प्रयोग तीव्र गतिमा बढ्दो छ । १२ कक्षामा अध्ययनरत यी १८ वर्षीया किशोरीका अनुसार यस्ता परिकारमा घरको भन्दा फरक स्वाद पाइन्छ । घरमा सधैं खाने खानाभन्दा पृथक् स्वाद दिन्छ, नौलो स्वादका पछि लाग्नु मानवीय स्वभाव नै हो । त्यसैले युवाहरू त्यस्ता खाद्य पदार्थप्रति लोभिएका हुन् । यद्यपि शिवानी भने घरकै खाना रुचाउँछिन् । शिवानी भन्छिन्–‘म घरकै स्वस्थ खाना रुचाउँछु । कहिलेकाहीँ बाहिरको खाना पनि खाइन्छ । यो खाँदाको क्षणसम्म भने मीठो हुन्छ । हामीले यसको सर्ट तथा लङ टर्म असरको पनि हेक्का राख्नुपर्छ ।’ रायमाझीका अनुसार के खाइँदै छ भन्ने कुरामा सबैले ध्यान पुर्‍याउनुपर्छ ।  बहसमा सहभागी ह्वाइट गोल्ड इन्टरनेसनल कलेजकै अर्की छात्रा सुनयना आचार्यका अनुसार भोक लागेका बेला एक हातले पैसा  तिरी अर्को हातले रेडिमेड प्याकेट खोलेर खान सजिलो हुने हुँदा त्यस्ता खाद्यपदार्थको क्रेज बढ्दो छ । आचार्य भन्छिन्–‘यसले जीवन सजिलो बनाएको छ । भोक लागेका बेला तुरुन्तै राहत मिल्ने तथा भान्सामा नपसी मीठो स्वाद लिन पाइने हुँदा मलाई यो साह्रै मन पर्छ ।’ यसको असरका बारेमा सचेत रहे नरहेको प्रश्नमा सुनयना भन्छिन्–‘यसका बारेमा म सचेत छु । कति मात्रामा खाने तथा के खाँदैछु भन्ने कुरामा ध्यान दिन्छु । प्याकेटको कुरा लिँदा बनेको मिति तथा कति समयसम्म प्रयोग गर्न मिल्छ भन्ने विचार पुर्‍याउँछु ।’ त्यसो त कहिलेकाहीँ बाहिरको खाना खाँदा पेट दुख्ने बताउँछिन्–उनी ।  जंक फुडकै कारण आफू बिरामी परेको अनुभव बोकेकी एमबीबीएसको तयारी गरिरहेकी १९ वर्षीया संगीता ओलीका अनुसार जंक फुड मानव स्वास्थ्यका लागि लाभदायक छैन । यति थाहा हुँदाहुँदै पनि हामी यसको दैनिक सेवन गरिरहेका छांै । उनी यसका लागि कतिको बाध्यता त कति यसका पारखी भएको बताउँछिन् । ओली भन्छिन्–मलाई घरमै पकाएको खाना मन पर्छ । म होस्टलमा बस्छु । त्यसैले भोक लागेका बेला प्याकेटमा भएका खानेकुरा खान्छु । साथीभाइसँग घुम्न जाँदा मेन्यु हेरेर आफूलाई मनपर्ने परिकार अर्डर गरिन्छ । त्यो खाँदाको क्षण मीठो हुन्छ ।उनी विगतमा आफूले डेट नहेरी चाउचाउ खाँदा पखाला लागेको स्मरण गर्दै भन्छिन्–‘सचेत रहनु आवश्यक छ ।’  त्यसैगरी छलफलमा सहभागी १७ वर्षीया ऋचा फुयाँलका अनुसार क्यारी गर्न सजिलो हुँदा जंक फुडप्रति रुचि बढेको हो । नयाँ स्वाद तथा मीठो खाने चाहनाले गर्दा मानिसहरू यसतर्फ आकर्षित भएका हुन् । मोर्गन इन्टरनेसनल कलेजमा कक्षा १२ मा अध्ययनरत यी छात्राका अनुसार आकर्षक विज्ञापन तथा मानिसको ती कुराप्रतिको मोहले गर्दा पनि यसको प्रयोग बढेको हो । त्यसमा कति मात्रामा केमिकल छ ? स्वादका लागि के–कस्ता इन्ग्रेडियन्ट प्रयोग भएका छन्? कहिले बनेको हो ? आदि कुरामा ध्यान पुर्‍याउनुपर्छ । ऋचा भन्छिन्, ‘होटलमा खाँदैछौं भने पनि ठाउँ सफा छ–छैन विचार गर्नु आवश्यक छ ।’  मोर्गन इन्टरनेसनल कलेजकी १७ वर्षीया छात्रा निशा प्रसाईंंलाई घरको स्वस्थ खाना खान रमाइलो लाग्छ । यसले आफ्नो शरीरमा चाहिने मात्रामा इनर्जीका साथै पूर्ण सन्तुष्टि पनि प्रदान गर्छ । प्रसाईं भन्छिन्, ‘के–कस्तो खाना खाँदैछांै त्यसमा विचार पुर्‍याउनुपर्छ । मीठो भन्दैमा बढी खाने तथा नमीठो भन्दैमा हेर्दै नहेर्ने होइन ।’ उनका अनुसार आफ्नो शरीरलाई चाहिने मात्रामा खानेकुरा सेवन गर्नुपर्छ । जंक फुड केही क्षणका लागि मीठो हुन्छ तर त्यसको असर लामो हुन्छ । एकपटक होटलमा बनाएको पकौडा खाँदा आफूलाई पखाला लागेको र बान्ता भएको स्मरण गर्ने प्रसाईं यसका बारेमा सचेत रहन सबैसँग आग्रह पनि गर्छिन् ।   साथीहरूसँग घुम्न गएका बेला हामी धेरैको रोजाइमा जंक फुड नै हुन्छ । बहसका सहभागीहरू पनि त्यस्ता खाद्यपदार्थ बोक्न, लान तथा सेवन गर्न सजिलो हुने तथा मीठो स्वादमा आफूलाई भोक लागेको बेला किनेर खान सकिने हुँदा राम्रो विकल्पका रूपमा आएको बताउँछन् । उनीहरू भन्छन्–त्यसैले कसरी बनेको छ तथा कति मात्रामा केमिकल मिसाइएको छ भन्ने कुरा बुझेर तथा त्यसको प्याक गरेको मिति र कहिलेसम्म प्रयोग गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने हो भने जंक फुड पनि खान सकिन्छ ।  

http://nari.ekantipur.com/news/2015-08-30/20150830164256.html

Comments

Popular posts from this blog

यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)

Growing Families That Stay Put Some families are crowding together for the sake of preserving close-knit neighborhood relationships, especially those forged among children.

As tensions play out at home, powerful Pakistani general heads to US for talks